काठमाडौं भदौ १८ गते।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताउनुभएको छ। ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री डा.राणाले आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेको बताउनुभयो । उहाँले भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको बताउनुभयो ।
‘प्रधानमन्त्री केपी ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ ।’ डा. राणाले बताउनुभयो।
‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ’, परराष्ट्रमन्त्री डा.राणाले बताउनुभयो।
भारत भ्रमणका दौरान गत भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट भएको उहाँले बताउनुभयो।
डा.राणाले भन्नुभयो ‘भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा उहाँसँग मेरो छलफल भयो ।’