alliance khabar

सोमबार, भाद्र ३१, २०८१

काठमाडौँ, भदौ ३१ गते ।

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिनुभयो । सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।

जुटेन राजनीतिक सहमति

यसअधि प्रतिनिधि सभामा वक्तव्यका क्रममा प्रयोग भएको ‘हिंसा’ शब्द र सोमाथि सभामुखको रुलिङको विवादमा प्रतिनिधि सभा बन्धक बनेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाउनुभएको थियो । दुई चरणमा भएको छलफल निष्कर्षविहीन बनेको हो ।

माओवादी केन्द्रले दलको निर्णय अनुसार नै बैठक अवरोध गर्ने जानकारी बैठकमा गराएको थियो । ‘हिंसा’ शब्द रेकर्डबाट हटाउने र आफ्ना धारणा राख्न पाउनुपर्ने अडान माओवादी केन्द्रले राखेको थियो तर उक्त मागमा सत्तारूढ दलहरू असहमत भएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलको निर्णय अनुसार नै अवरोध भएकाले राजनीतिक सहमति नभएसम्म अवरोध कायम रहने बताउनुभयो । पाण्डेले भन्नुभयो, “दलको निर्णय अनुसार अवरोध भएको हो, जुन शब्द प्रयोग भएको छ, यो शब्दको मात्र विषय होइन, सम्पूर्ण जनयुद्धको भावनाविपरीत हो । नसच्चिएसम्म हाम्रो विरोध यथावत् रहन्छ ।”

सत्तारूढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले माओवादी केन्द्रको माग नै बेठिक भएको बताउनुभयो । संसद्को सुव्यवस्थाका विषयमा सभामुखको रुलिङ अन्तिम हुने भएकाले त्यसलाई मान्नुपर्ने बर्तौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सभामुखको रुलिङ मान्नु सांसदको कर्तव्य हुन्छ । नियमापत्तिउपरको निर्णयको अधिकार पनि सभामुखलाई नै हो । निर्णयविपरीत माओवादीले आन्दोलन गरेको छ । बिनाविषय र उद्देश्यको आन्दोलन हो । माओवादीले कसको जवाफ मागेर आन्दोलन गर्ने ? सभामुखले भनेको नमान्ने हो भने मर्यादापालकले भनेको मान्ने ? रुलिङ कसको कार्यान्वयन गर्ने हो । सभामुखको रुलिङ सरकारले पनि मान्नु पर्छ ।”

‘हिंसा’ शब्दका कारण संसद् अवरुद्ध

शब्दकै विवादका कारण भदौ २६ गतेको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । त्यसको चार दिनपछि आइतबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ । शब्दको विवादमा सदन फस्दा प्रतिवेदन पेस तथा विधेयक पारितका कार्यसूची अवरुद्ध भएका छन् । सभामुख देवराज घिमिरेको रुलिङका विषयमा माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखको रुलिङपछि लगातार प्रतिनिधि सभामा अवरोध भइरहेको छ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलले सभामुखको भदौ २६ गतेको रुलिङ नसच्चिएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । भदौ १२ गते नेकपा (एमाले) का सचिव योगेश भट्टराईले विशेष समयको वक्तव्यमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गर्नुभएको थियो । शब्दप्रति माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ ।

भदौ १२ गतेको विवादमा सभामुख घिमिरेले भदौ २६ गते रुलिङ गर्नुभएको थियो । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्शमा समितिबाट प्राप्त राय र सचिवालयसँगको परामर्शसमेतका आधारमा उक्त निर्णय लिएको जानकारी बैठकमा गराउनुभएको थियो । विषय, प्रसङ्ग र प्रस्तुतिका आधारमा शब्द प्रयोग भएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ सभामुखबाट भएको थियो ।

प्रतिनिधि सभाको अवरोध कायमै रहेसँगै सोमबारका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन अनिश्चित बनेको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा जानुअघि सदनमा जानकारी दिन प्रधानमन्त्रीले सोमबार सम्बोधनको तयारी भएको थियो । प्रधानमन्त्रीको सम्बोधन र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस र आवश्यक निर्देशनपछि चालु अधिवेशन अन्त्यको तयारी थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल