alliance khabar

बुधबार, मंसिर १९, २०८१

चितवन, मङ्सिर १९ गते:  जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उहाँले भन्नुभयो, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ। यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ।”

गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गर्नुभयो। उहाँका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार नौ सय १९ जनाको डेङ्गी परीक्षण गर्दा तीन हजार छ सय ८७ सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन्। रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ।

जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका एक हजार एक सय ५३ बिरामी रहेका छन्। सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन्।

यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले सो समयमा विशेष सावधानी अपनाउनुपर्ने प्रमुख रुपाखेतीले बताउनुभयो।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्ने गर्दछ। यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले बताउनुभयो।

डेङ्गी हुँदा ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्छ। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्दछन्। त्यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्नेलगायत लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पट्टेलले जानकारी दिनुभयो।

डेङ्गीको ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल