alliance khabar

शुक्रबार, पौष १९, २०८१

काठमाडौँ, पुस १९ गते ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमा पदाधिकारीको सङ्ख्या बढी भयो भनेर केही सदस्यले घटाउनुपर्ने जिकिर गर्दा आवश्यकताका आधारमा राखिएको भन्दै केहीले प्रस्तावित व्यवस्थालाई चलाउन नहुने पक्षमा देखिएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक–२०८१ छलफलमा छ । विधेयकमा संरक्षकसहित चार परिषद् र दुई केन्द्र व्यवस्था गरिएको छ । त्यसै गरी दुई जना उपाध्यक्ष, चार जना निर्देशक र एक जना प्रमुख सञ्चालन अधिकृत हुने व्यवस्था गरिएको छ ।

विधेयकबारे दफावार छलफलमा सदस्य आनन्दप्रसाद ढुङ्गानाले धेरै पदाधिकारी हुँदा कामको दोहोरोपना हुने र स्वार्थ बल्झिने अवस्था आउने हुँदा सकेसम्म कम गर्न सुझाव दिनुभयो । सदस्य डा. वेदुराम भुसालले प्रमुख सञ्चालन अधिकृतको काम, कर्तव्य र अधिकार स्पष्ट नभएकोमा तिलगङ्गा प्रतिष्ठानले सोसम्बन्धी कागजात उपलब्ध गराएकोमा अध्ययनपछि मात्रै अधिकृतको आवश्यकताबारे धारणा तयार गर्ने बताउनुभयो । सदस्य नारायणकाजी श्रेष्ठले प्राज्ञिक र व्यवस्थापन हेर्ने दुई जना उपाध्यक्ष व्यवस्था गरिएको हुनाले उपयुक्त नै रहने धारणा राख्नुभयो ।

विधेयकको दफा ७ ले संरक्षक परिषद्, दफा ९ ले कार्यकारी परिषद्, दफा ११ ले प्राज्ञिक परिषद् र दफा १३ ले विद्या परिषद्सम्बन्धी व्यवस्था गरेको छ । अनुसन्धान, अस्पताल, आर्थिक तथा स्रोत व्यवस्थापन र प्राज्ञिक गरेर विधेयकमा चार जना निर्देशक हुने व्यवस्था गरिएको छ । विधेयकमा विश्वविद्यालय अन्तर्गत अनुसन्धान तथा नवप्रवर्तन र उत्पादन गरी दुई केन्द्र रहने व्यवस्था छ ।

दफावार छलफलका क्रममा अधिकांश सदस्यले प्राज्ञिक र विद्या गरी दुई छुट्टाछुट्टै परिषद् हुन नहुने तर्क गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदाधिकारीको जिम्मेवारी कानुनमै स्पष्ट नभए भोलि समस्या आउने भएकाले गम्भीरतापूवर्क छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले पदाधिकारीबारे विभिन्न विश्वविद्यालयले अभ्यासका क्रममा देखिएको समस्यालाई समेत चिन्तन गर्न सुझाव दिनुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले प्राज्ञिक परिषद्ले नै विद्या परिषद्को काम गर्ने गरी व्यवस्था गरिए आपत्ति नहुने तिलगङ्गा नेत्र प्रतिष्ठानको भनाइबारे बैठकमा जानकारी गराउनुभयो । समितिले विश्वविद्यालयको नाम र प्रस्तावनाबारे पछिल्लो तीन वटा बैठकदेखि छलफल गर्दै आएको छ । सहमति जुट्न नसक्दा सभापति दाहालले सचिवालयलाई प्रस्तावना पुनर्लेखन गरी ल्याउन निर्देशन दिनुभयो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल