म्याग्दी, फागुन ८ गते ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो ।
सडक पुगेपछि बगरका स्थानीयहरूमा खुसीयाली छाएको छ । सडक पुगेपछि आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा दुर्गम बस्तीका स्थानीयवासीहरुलाई सहज हुने भएको छ । धवलागिरि हिमालको आधार शिविर जाने बगर गाउँ अन्तिम मानव बस्ती हो । कडा भीर पहरा फुटालेर जलविद्युत आयोजनाले बगरमा सडक पुर्याएको हो ।
यस क्षेत्रमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाले नाउरा हुँदै बगर जोड्ने सडक निर्माण गरेपछि बुधवार पहिलो पटक बगरमा गाडी पुगेको धवलागिरि गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । दुर्गम बस्तीमा पहिलो पटक गाडी आउँदा स्थानीयवासीहरुमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।
जलविद्युत आयोजनाले सडक बनाइदिएपछि बगर गाउँका स्थानीयहरूको गाडी चढ्ने सपना पूरा भएको छ वडाध्यक्ष घर्तीले भन्नुभयो, ‘‘ सरकारी स्रोत साधनबाट बगरमा सडक पुर्याउन अझै वर्षौँ लाग्ने थियो । सडक नहुँदा नाउरा देखि बगर पुग्न भीरको बाटो ५ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । सडक निर्माण भएपछि आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने छ । यस क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत आयोजनाको कारण वर्षौँ देखिको बगरवासीको सपना पूरा भएको छ ।’’
सडक निर्माण भएसँगै बगर र सिमकोस गाउँका ५५ घरधुरीलाई गाउँपालिका केन्द्र मुना,मुदीमा रहेको वडा कार्यालय र जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न सहज भएको नाउराका स्थानीयवासी तथा वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बगर गाउँ जिल्लाकै विकट बस्ती हो । कडा भिर पहरा भएकाले सरकारी स्रोत साधन प्रयोग गरेर गाउँमा सडक ल्याउन बर्षौ समय लाग्ने थियो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाका कारण बगरवासीको सपना पुरा भएपछि गाउँलेहरू खुसी भएका छन् ।’’
म्याग्दी खोला जलविद्युत आयोजनाका प्रमुख ज्योतिकुमार केसीले अपर म्याग्दी एक जलविद्युत आयोजनाको खाम्ला स्थित बाँध निर्माण स्थल देखि बगरसम्म ६ किलोमिटर दूरी सडक निर्माण गरिएको जानकारी दिनुभयो ।
बगर र नाउरा दुई तर्फबाट डोजर परिचालन गरेर सडक निर्माण गरिएको थियो । म्याग्दी खोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी खोला जलविद्युत आयोजनाले बगर जाने सडक अन्तर्गत नाउरा स्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेल ब्रिज जडान गरेको छ ।