alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

धनगढी, फागुन २८ गते ।

 सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन् । जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने गरेको नारायण रानाले बताउनुभयो ।

उहाँका अनुसार होली पर्वको होलिका दहन नगरुन्जेलसम्म रानाथारू समुदायका बुढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने गर्दछन् । अहिले विभिन्न गाउँमा हरेक रात जिन्दा होरी नाच देखाउने काम भइरहेको छ ।

होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व हो । जिन्दा र मरी गरेर दुई चरणमा होरी पर्व मनाउने गरिन्छ । नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाका अनुसार होलिका दहनपछि रानाथारू समुदायमा मरी होरी सुरु हुन्छ । मरी होरी आठ दिनसम्म मनाउने चलन छ । मरी होरी अवधिभर मौलिक पहिरन लगाएर दिउँसो होरी नाच नाचेर रमाउने गरेको रानाको भनाइ छ ।

मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुन्छ । खख्डेहरा फुटाएको दिन आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना (मिठा मिठा खानाको परिकार) खुवाउने चलन रहेको छ । खख्डेहरा रानाथारू होरीको सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

खख्डेहरा फुटाएर होरी पर्वको समापन गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको छ । चैत महिनामा चराइँ पर्व मनाएपछि बल्ल होरी सकिने गरेको रानाको भनाइ छ । यो समुदायका मानिसले असत्यमाथि सत्यको जित भएको खुसियालीमा नाच्दै, रमाउँदै होरी पर्व मनाउने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल