alliance khabar

बुधबार, चैत्र ०६, २०८१

काभ्रेपलाञ्चोक,  चैत ६ गते ।

मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।

विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताउनुभयो । “चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्”, उहाँले भन्नुभयो ।

कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् । यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट रु १० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।”

किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए । जसमध्ये अहिले आठ वटा सुकिसकेको उहाँले बताउनुभयो । बर्सेनि रु ४० हजारको कटहर बेच्दै आउनुभएका उहाँले अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुग्नुभएको छ । “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो”, श्रेष्ठले भन्नुभयो ।

एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् ।

यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ । “कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी–किराको प्रकोप देखिएको जनाएको छ । “तर यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ”, कृषि अधिकृत रमा कार्कीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल