alliance khabar

बिहिबार, चैत्र ०७, २०८१

बैतडी, चैत ७ गते ।

कुनै बेला कालिगडको किल्ला भनेर चिनिने बैतडी सदरमुकामको बबेत गाउँमा अहिले कलात्मक खोलदेली भएका घर निर्माण गर्न सक्ने ८५ वर्षीय ज्येष्ठ नागरिक अन्तराम वडबाहेक नयाँ पुस्ताका कोही छैनन् । मौलिक घर, पुरातात्त्विक देवस्थल, दरबारमा उपयोग भएका दर्जनौँ सिप पुस्तान्तरण  हुन नसक्दा हराउने अवस्थामा पुगेका छन् ।

खोलदेली भएका घर र मन्दिर निर्माणका लागि यहाँका कालिगडको माग बैतडी, डडेलधुरा, डोटी, बाजुरालगायतका जिल्लासम्म हुने गर्दथ्यो । पछिल्लो समय घर र मन्दिरमा कङक्रिटको प्रयोग बढ्न थालेपछि नयाँ पुस्ता मौलिक पेसाबाट पलायन भएको ८५ वर्षीय कालिगड अन्तराम वडले बताउनुभयो । उहाँले बैतडीका प्रसिद्ध देवस्थल र पुराना दरबारको निर्माण वडलागयतका विश्वकर्मा समुदायले गरेको भए पनि अहिलेको विकास निर्माणमा मौलिक सिपको उपयोग हुन नसकेको बताउनुभयो ।

अमर सहिद दशरथचन्दको जन्म घर, तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका हस्तीहरू बस्ने मौलिक घरमा सुर्की (मासको गाह्रो) तयार गरेर बैतडीकै कालिगडले निर्माण गरेको उहाँले बताउनुभयो ।  खोलदेली भएका मौलिक घर सुदूरपश्चिमको मौलिक चिनारी भए पनि अहिले यस्ता घर बन्न छाडेको उहाँले बताउनुभयो । यसका साथै मौलिक माडौं (मन्दिर) का मूलढोका र कालोखाम निर्माण गर्न सक्ने सिप हराउने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

यसै गरी आरन, काठका ठेकी, चोयाको मोट्टा, डालो, दमाहा बनाउने, हुड्को बजाएर भडाहा गाउने, मसकबिन बजाउनेलगायतका मौलिक कला र सिप पनि हराउँदै गएका छन् । हुड्को बजाएर भडाहाका सबै गाथा गाउन सक्ने मानिस औँलामा गन्न सकिने अवस्था रहेको भडाहाका जानकार ७० वर्षीय मनोहर परियारले बताउनुभयो । बैतडीसँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लामा झुसे दमाईंका बारेमा ५२ भन्दा बढी मानिसले विद्यावारिधि गरिसकेका छन् । नेपालमा कुनै चर्चा नभएको गुनासो आएपछि यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट झुसे दमाईं प्रतिष्ठानका लागि १० लाख रुपियाँ विनियोजित गर्न पहल गरेको प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले बताउनुभयो ।

उहाँले यही उद्देश्य पूरा गर्न झुसे दमाईं प्रतिष्ठान गठन गरेर उहाँका बारेमा अध्ययन अनुसन्धानको काम अघि बढेको दाबी गर्नुभयो ।

पञ्चेश्वरमा भेटिए नयाँ कालिगड

पुराना पुस्तासँग भएको सिप सिकेर मौलिक खोलदेली, देवस्थल, भगवान्का मूर्ति र मन्दिरको कालोखाम  निर्माण गर्दै आइरहेका एक युवा भेटिएका छन् । पञ्चेश्वर गाउँपालिका–४, हरियागाडाका ३४ वर्षीय धर्मराम वडले मौलिक सिप सिकेर नयाँ पहिचान बनाउन सफल भएको बताउनुभयो ।

उहाँले मौलिक सिप सिकेर दर्जनौँ मन्दिर, देवस्थल र मौलिक घरका खोलदेली र काठका ठेकी बनाएर राम्रो आम्दानी र प्रतिष्ठा प्राप्त भएको बताउनुभयो । स्थानीय तहको सरकारले मौलिक सिपको संरक्षण गर्न तालिमको आयोजना गरे नयाँ पुस्तालाई मौलिक सिप सिकाउने धोको रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल