Alliancekhabar

मंगलबार, भाद्र १९, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो । उहाँले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताउनुभयो । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिनुभयो ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।

‘फाइवर ट्रस’ लगाइँदै

पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।

हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी दुई हजार चार सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी एक हजार चार सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन रु तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताउनुभयो । उहाँका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी चार दशमलव पाँच किलोमिटर छ ।

तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल