काठमाडौं, चैत ११ गते ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिमा उल्लेख छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगरलगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ । सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ ।
सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।