तनहुँ, चैत २५ गते ।
यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो ।
किसानलाई प्रोत्साहन गरी सुन्तला खेतीको विस्तार गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ । उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र उचित मूल्य पाउने भएकाले खेतीको क्षेत्रफल विस्तार गरी किसानको आय वृद्धि गर्न अनुदानको व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
परियारका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका सुन्तला उत्पादन गर्ने किसानले ९९ लाख रुपियाँ अनुदान पाएका छन् । अनुदानअन्तर्गत किसानलाई निःशुल्क रुपमा बेर्ना, नयाँ क्षेत्रफल विस्तारका लागि खाल्टो खन्न, सिँचाइ गर्न पोखरी बनाउन, अनावश्यक हाँगाहरु काट्ने मेसिन खरिद गर्न सून्तला जात फलफूल विकास कार्यक्रमअन्तर्गत अनुदानको व्यवस्था गरिएको परियारले जानकारी दिनुभयो ।
परियारका अनुसार किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । परियारले भन्नुभयो, ‘‘सुन्तला जति उत्पादन भए पनि बिक्री हुने भएकोले नयाँ बगैंचा थपेर किसानको आय परिवर्तन गर्न अनुदान बितरण गरेका हौं ।’’ सुन्तला उत्पादन गर्ने समूह तथा सहकारीलाई अनुदानको व्यवस्था गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अनुदानका लागि आह्वान गर्ने गरिएको र एक पटक पाइसकेका किसानले भने नपाउने व्यवस्था गरिएको छ ।
जिल्लामा गत वर्षको तुलनामा सुन्तला उत्पादन बढेको छ । गत वर्षभन्दा १२ करोड बढीको सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिनुभयो । गतवर्ष ३० करोड मूल्यको सुन्तला उत्पादन भएकोमा यसवर्ष ४२ करोडको बिक्री भएको उहाँले बताउनुभयो । यसबवर्ष हावाहुरी र असिनाले कम क्षति गरेकाले गत वर्षभन्दा १२ करोड उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका अनुसार प्रति किलोग्राम ७० देखि एक सय रुपियाँसम्म कृषकले मूल्य पाएका छन् । गतवर्षको तुलनामा यसवर्ष आठ हेक्टर क्षेत्रफलमा सुन्तला खेती वृद्वि भएको छ । जिल्लामा एक हजार छ सय ५६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा उत्पादन नौ सय ६८ हेक्टरबाट भएको छ ।
गतवर्ष यहाँ एक हजार छ सय ४५ हेक्टरमा खेती गरिएकोमा नौ सय ६० हेक्टरबाट सुन्तला उत्पादन भएको थियो । कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत अनुदान दिन थालेपछि बर्सेनी जिल्लामा सुन्तला खेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार जिल्लामा हाल आठ वटा ब्लकमा सुन्तला खेती हुँदै आएको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।
व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्ल गण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेका छन् । सुन्तला जात फलफूल विकास आयोजनाअन्तर्गत बगैँचा स्थापना तथा विस्तार, बगैँचा सुदृढीकरण व्यवस्थापन, सिँचाइ व्यवस्थापन, यन्त्र उपकरण र बिमालगायतका क्षेत्रमा सहयोग गर्दै आएको लामिछानेले बताउनुभयो ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढ, विराटनगर लगायत ठुला सहरमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका स्थानीय बजारहरूमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको केन्द्रले जनाएको छ ।