alliance khabar

सोमबार, चैत्र २५, २०८१

बागलुङ, चैत २५ गते ।

 ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेलको सिकार हुने छ । यो यामका लागि छ कम्पनीबाट पाँच देशका १५ जना पेसेवर विदेशी सिकारीले सिकार गर्न लागेका ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।

सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार आरक्षमा हिमालयन वाइल्डलाइफ आउटफिटर्स काठमाडौँमार्फत दुई स्पेनी सिकारीले सुनदह र सेङ घुस्तुङमा दुई नाउर, दुई झारल र दुई बँदेलको सिकार गर्न अनुमति पाएका छन् । ट्र्याक्स एन्ड ट्रेल्स प्रालिमार्फत दुई अमेरिकी सिकारीले सेङ गुस्तुङ र गुस्तुङमा दुई नाउर, दुई झारल र दुई बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यस्तै हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन अमेरिकी सिकारीले दोगाडी (पूर्वी रुकुम) मा तीन नाउर र एक झारलको सिकार गर्न अनुमति प्राप्त गरेका छन् । ग्लोबल सफारिज नेपाल प्रालि काठमाडौँमार्फत एक रसियाली र एक अमेरिकी सिकारीले फागुने र बार्सेमा दुई नाउर, एक झारल र दुई बँदेलको सिकार अनुमति प्राप्त गरेका छन् ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालि जावलाखेल ललितपुरमार्फत फ्रान्स, एसएसए र अमेरिकाका सिकारीले दोगाडी/घुस्तुङ, दोगाडी र गुस्तुङमा तीन नाउर, दुई झारल र तीन बँदेलको सिकार अनुमति प्राप्त गरेका रेन्जर सुवेदीले बताउनुभयो । यस्तै ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेक्स प्रालिमार्फत दुई अर्जेन्टिनी र एक स्पेनी सिकारीले सुनदहबाट एक नाउर, दुई झारल र तीन बँदेलको सिकार अनुमति प्राप्त गरेका छन् । आरक्षमा सिकारीले हालसम्म तीन नाउर र दुई झारलको सिकार गरिसकेका छन् । उहाँले हालसम्म नौ सिकारी आरक्षमा आइपुगेका जानकारी दिनुभयो । अन्य सिकारी आउने क्रम जारी छ । व्यवस्थित सिकारका लागि यस पटक सुनदह, सेङ, घुस्तुङ, गुस्तुङ, दोगाडी (पूर्वी रुकुम), फागुने र बार्से ब्लकमा क्षेत्र तोकिएको छ ।

प्रमुख संरक्षण अधिकृत चौधरीले भन्नुभयो, “आवश्यक प्रक्रिया पूरा गरी सिकारीहरू ढोरपाटन आउने क्रम जारी छ ।  यो याममा १३ नाउर, १० झारल र १२ बँदेलको सिकार कोटा छ । सोही अनुसार वैशाखसम्म सिकारीले सिकार गर्ने छन् ।” फागुन अन्तिम सातादेखि सिकार खेल्न सुरु भएको छ । दोस्रो यामको सिकार वैशाख १६ सम्म सञ्चालन हुने अधिकृत चौधरीले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत माघमा सिकारका लागि पेसेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । रेन्जर सुवेदीका अनुसार एउटा झारलको आठ लाख र नाउरको छ लाख २५ हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

दोस्रो याममा एक करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । आरक्षमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल