बैतडी, चैत २५ गते ।
स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ । गैंटी र सम्बल चलाएर तीन वर्षमा सडक निर्माण हुन सक्छ भनेर कसैले पत्याएका थिएनन् । सड पूरा भएपछि अहिले सरर मोटर गाडी चल्न थालेका छन् ।
जर्मन सहयोग नियोग (जिआइजेड) ले स्थानीयलाई दाल चामल र नगद ज्याला दिएर २०७० सालामा निर्माण पूरा गरेको देहिमाण्डौं–गिरेगाडा ३२ किमीमध्ये सुदूरपश्चिम प्रदेश सरकारले २०८१ मा १५ किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो ।
देहिमाडौं, ग्वाल्लेक, नागार्जुन, गिरेगाडाका करिब सात हजार मानिसले गैंटी, कोदालो र सम्बल प्रयोग गरी ३२ किलोमिटर सडक खनेको देहिमाडौंका सुरेश बोहराले बताउनुभयो । सडक निर्माणका क्रममा स्थानीयले ५८ करोड रुपियाँ बराबरको दाल चामल र ५७ करोड रुपियाँ नगद ज्यालासमेत पाएको उहाँले बताउनुभयो ।
अहिले कालोपत्रे सडकमा सरर मोटर गाडी चल्न थालेका छन् । प्रदेश सरकारले २०७६ सालदेखि कालोपत्रे सुरु गरेर यो वर्ष १५ किलोमिटर सडक स्तरोन्नतीको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले बताउनुभयो ।
सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी मात्रै भएका छैनन्, गाउँमै कृषि, पशुपालन र फलफूल खेतीमा लागेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडा अध्यक्ष मोहन जोशीले बताउनुभयो । मानिसले खनेका कारण यो सडकमा कतै पनि पहिरो नखसेको उहाँले बताउनुभयो ।
सडक निर्माणमा सात हजार मानिस २६० वटा समूहमा परिचालन भएको कार्यक्रमका तत्कालीन प्राविधिक पुष्करराज जोशीले बताउनुभयो । सन् २०१० देखि २०१३ सम्म सडक खन्दा गाउँमा रोजगारीको अवसर सिर्जना भएको उहाँले बताउनुभयो । विकासको यस्तो नमुना जिल्लामै पहिलो पटक आउँदा भारत जाने मजदुरसमेत तीन वर्ष लगातार गाउँमै बसेका थिए । सडक खनेर साँझ घर फर्किने बेला एक जना मजदुरले दैनिक तीनदेखि पाँच किलो चामल, एक किलो दाल र पाँच सय रुपियाँ नगद बुझेर लैजाने गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “जर्मन सहयोग नियोग (जिआइजेड) ले सडक निर्माणसँगै ४० वटा सिँचाइ कुलो, ग्वाल्लेक र देहिमाडौं क्षेत्रमा १० वटा र मेलौली नगरपालिका क्षेत्रमा २७ वटा विद्यालयका भवन निर्माण भएका छन् । कार्यक्रमको क्षेत्रसँग सिमा जोडिएका पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा खानेपानीका योजनासमेत निर्माण भएका छन् ।”
सडक, सिँचाइ कुलो र विद्यालयका भवन निर्माणले स्थानीयले तीन वर्षसम्म लगातार रोजगारी पाउँदा जीवनस्तरनै बदलिएको ग्वाल्लेकका सामाजिक अगुवा जनकराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देहिमाडौं–गिरेगाडा सडक एक सडक मात्रै नभई साविसका चार वटा गाविकासको भाग्यरेखा हो । सडकले रोजगारी दिएपछि भारत जाने युवा गाउँमै रोकिए । तीन वर्ष काम गर्दा गाउँमा डेढ अर्ब रुपियाँ भित्रियो । सडक कालोपत्रे भएपछि अहिले बाख्रापालन, ओखर, टिमुर खेती गर्नेको सङ्ख्या बढेको छ ।”
दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकमा मात्रै २१ वटा बहुउद्देश्य कृषि फार्म रहेको वडा अध्यक्ष मोहनदेव जोशीले बताउनुभयो । कृषि, पशुपालन र फलफूलखेतीलाई टेवा पु¥याएको छ । नगरपालिकाको समन्वयमा स्थानीयले ग्वाल्लेकमा मात्रै २५० वटा ओखरका नयाँ बिरुवा रोपेको उहाँले बताउनुभयो ।
गाउँमै कालोपत्रे सडक निमार्ण भएसँगै यातायातको र कृषि उपजको बजारीकरणमा सहज पहुँच पुगेपछि ग्वाल्लेकका स्थानीय बासिन्दा निर्माण व्यवसायी सुरेश चन्दले पाँच करोड रुपियाँको लगानीमा बाख्रा पालन फर्म सुरु गर्नु भएको छ ।
चन्दको ग्वाल्लेक एग्रो बाखा्र फर्ममा स्थानीय खरी जातदेखि भारतको राजिस्तानबाट ल्याइएका सिरोही जातका उन्नत बाख्रा रहेका छन् ।
बाख्रा फर्मको बिहीबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री वीरबहादुर थापाले स्थलगत निरीक्षणसमेत गर्नुभयो । निरीक्षणपछि मन्त्री थापाले ग्वाल्लेक क्षेत्र कृषि, पशुपालन र फलफूलखेतीका लागि उपयुक्त ठाउँ देखिएकाले आगामी कार्यक्रममा प्राथमिकता दिने बताउनुभयो ।