alliance khabar

शुक्रबार, चैत्र २९, २०८१

सुर्खेत, चैत २९ गते ।

पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व दिनानुदिन बढ्दो छ । सोही अनुपातमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ । बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्याङ्क छ ।

सुरक्षा चुनौतीलाई ध्यान दिँदै अनुसन्धानमा सहयोगी मानिएको सिसी क्यामरा जडानको अवस्था न्यून रहँदा समस्या भएको हो । घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सिसी क्यामरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ तर वीरेन्द्रनगरमा पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा शान्तिसुरक्षामा चुनौती बढिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरको मुख्य सडक, चोक र राजमार्गमा पर्याप्त सिसी क्यामरा नहुँदा र भएका सिसी क्यामरा पनि बिग्रिएका कारण शान्तिसुरक्षामा चुनौती हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक रूपेश खड्काले बताउनुभयो । खड्काका अनुसार यहाँ ९२ वटा सिसी क्यामरा राखिएकामा अधिकांश त बन्द अवस्थामा छन् ।

बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ३५ वटा मात्र सञ्चालनमा छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएकाले सुरक्षा चुनौतीलाई ध्यान दिँदै सिसी क्यामरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्य चोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामरा भने लामो समयदेखि बिग्रिएका भए पनि मर्मतसम्भारमा ध्यान जान सकेको छैन ।

प्रदेश सुरक्षा योजना

बढ्दो सुरक्षा चुनौतीलाई ध्यान दिँदै कर्णाली प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेको छ । सङ्घीय सरकारसँगको सहकार्यमा प्रदेशभित्रका सुरक्षा निकायको भौतिक पूर्वाधार सुदृढीकरण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सुरक्षा रणनीति योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । मुख्य सीमानाकामा अपराध नियन्त्रण गर्न डिजिटल गेट र प्रदेश राजधानी वीरेन्द्रनगरलगायत संवेदनशील स्थानमा सिसी क्यामरा जडान गर्न लागिएको छ ।

प्रदेश सुरक्षा योजना अन्तर्गत कर्णाली प्रदेश प्रवेशको प्रमुख नाका बबईमा अत्याधुनिक स्वचालित सिसी क्यामरा जडान गरिएको छ । प्रदेश भित्रिने र बाहिरिने सवारीसाधनको डिजिटल प्रविधिद्वारा स्वचालित नम्बर प्लेट पहिचान गर्ने क्यामरा जोडिएको हो । क्यामरा जोडिएसँगै प्रहरी सडकमा आउनुपर्ने र सवारीसाधन रोकेर नम्बर दर्ता गर्नुपर्ने झन्झट हटेको छ । अन्य स्थानमा समेत अत्याधुनिक स्वचालित सिसी क्यामरा जडानका लागि माग गरिएको प्रहरी उपरीक्षक रूपेश खड्काले बताउनुभयो ।

प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेर काम गरिरहेको छ तर यतिले मात्र पर्याप्त छैन । दुर्घटनाको जोखिम बढ्दो छ । जीर्ण सडक, चालकको लापर्बाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको प्रमुख कारक भएको खड्काको भनाइ छ । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेकै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल