गुलरिया (बर्दिया), वैशाख ९ गते ।
विश्वबाट नै लोप हुनथालेको घडियाल गोहीको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र सञ्चालन छ । सञ्चालन भएको ४२ वर्षमा १७५ वटा गोहीका बच्चा हुर्किएका छन् ।
विश्वबाटै लोप हुँदै गएको घडियाल गोही खास गरी दक्षिण एसियाको नेपाल र भारतमा पाइन्छ । नेपालमा मगर र घडियाल गरी दुई प्रजातिका गोही रहेका छन् । तिनीहरूमध्ये घडियाल गोही संरक्षित सूचीमा रहेको छ । नदी प्रदूषित हुनु, वासस्थान विनाश हुनु, आहारा प्रजाति घट्दै जानु, नदीमा विष हाल्नुलगायतका कारणले घडियाल गोही लोप हुँदै गएको संरक्षणकर्मीको भनाइ छ ।
निकुञ्जले सञ्चालन गरेको प्रजनन केन्द्रमा २० वटा तीन वर्षमाथिका र १३२ वटा तीन वर्षमुनिका बच्चा रहेका छन् । यसअघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ ओटा बच्चा प्राकृतिक वासस्थानमा छोडिएको थियो ।
प्रजनन केन्द्रमा हुर्काएर तीन वर्ष पुगेपछि प्राकृतिक वासस्थानमा घडियाल गोहीका बच्चा छोडिने गरिन्छ । गोही प्रजनन केन्द्रमार्फत जन्मेका बच्चा हुर्काएर प्राकृतिक स्थानमा बाँच्न सक्ने भएपछि नदीमा छोडेर गोहीको सङ्ख्या वृद्धि गर्ने योजना रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरोजमणि पौडेलले बताउनुभयो ।
२०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो भने २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । गोही प्रजनन केन्द्र स्थापना भएको लामो समयपछि निकुञ्जले सफलता हात पारेको थियो । प्रजनन केन्द्रमा हाल दुई भाले र चार पोथी गरी छ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् ।
घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी सिकार नियन्त्रण गर्ने खालका काम भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । नेपालका प्रमुख नदी कर्णाली, बबई, नारायणी र राप्ती नदीमा घडियाल गोहीको प्राकृतिक बासस्थान रहेको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइने भए पनि कति छन् भन्ने यकिन तथ्याङ्क नरहेको संरक्षण अधिकृत सन्तबहादुर मगरले बताउनुभयो । उहाँका अनुसार समय समयमा अनुगमन भए पनि बजेट अभावमा घडियाल गोहीको व्यवस्थित गणना गर्न सकिएको छैन ।