Alliancekhabar

बिहिबार, आश्विन ०४, २०८०

गण्डकी, ४ असोज : पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू सङ्कटमा पर्दै गएको घिमिरेले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जनस्थल पोखरा–३२ लामेआहालमा सारिएको छ । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख भए पनि पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको बासस्थान सङ्कटमा परेको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्षअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका घिमिरेको भनाइ थियो । उहाँका अनुसार सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवं उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका हुन् ।

नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको छ । बासस्थान सङ्कटमा पर्नुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको अनुसन्धाताहरू बताउँछन् ।

“औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ”, उहाँले भन्नुभयो ।

घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उहाँले जानकारी दिनुभयो ।

पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको सङ्ख्या सबैभन्दा बढी देखिएको र राज गिद्ध एउटा मात्र फेला परेको घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल