काठमाडौँ -२३ असार ।
दुई वर्ष अघि प्रस्ताव गरिएको इन्जिनियरिङ्ग कलेजले अन्तत: डोटीमा जिल्लामा मान्यता प्राप्त गरेको छ । प्रस्तावित खप्तड इन्जिनियरिङ्ग क्याम्पसले मान्यता पाएसँगै दिपायल, सिलगढी नगरपालिकाको वडा नं. ६ थाप्लामा भौतिक संरचना निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । असार १२ गते त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट आंगिक क्याम्पसका रुपमा मान्यता पाएको हो ।
सोमबार परियोजना संयोजकको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सोमबार कार्यालयको उद्घाटन गरेका हुन् । परियोजना संयोजक रामप्रसाद पौडेलले क्याम्पस स्थापनाका लागि आवश्यक काम सकेर भौतिक संरचना निर्माण कार्य अघि बढाउन लागिएको बताए । क्याम्पसले थाप्लामा एक सय २५ रोपनी जमिन प्राप्ति गरिसकेको छ । बर्षा सकिने बितिक्कै भौतिक संरचनाको काम अघि बढाइने परियोजना संयोजक पौडेलको भनाइ छ । उनका अनुसार भौतिक संरचना र दरबन्दी सृजना भए यथाशीघ्र पढाइ सुरु हुनेछ ।
भौतिक संरचना निर्माणका लागि साढे ४ करोड बजेट समेत दुई वर्षअघि नै संघीय सरकारले बिनियोजन गरिसकेको छ । स्नातकतहसम्मको अध्ययन हुने यो क्याम्पसमा विभिन्न १२ वटा कार्यक्रम सञ्चालन गर्न सकिने लक्ष्य भएपनि हाललाई सिभिल इन्जिनियरिङ्ग र कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रम सुरु गर्ने तयारी सरकारको छ ।
काठमाडौँ स्थित पुलचोक इन्जिनियरिङ्ग क्याम्पसका प्राध्यापक पौडेल यस अघि पोखरा र धरान इन्जिनियरिङ्ग क्याम्पस प्रमुख भइ काम गरिसकेका अनुभवी प्राध्यापक हुन् । हाल सरकारले उनलाई दाङको इन्जिनियरिङ्ग कलेज र डोटी सिलगढीको खप्तड क्याम्पस विस्तारका लागि परियोजना संयोजकको जिम्मेवारी दिएर खटाएको छ । पौडेलले क्याम्पस स्थापना पछि सुदूरपश्चिममा प्राविधिक जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे । स्थानीयको सकृयता र राजनैतिक दलहरूको भूमिका रह्यो भने चाँडै नै पढाइ सुरु हुने पौडेलको भनाइ छ ।