alliance khabar

आइतबार, आश्विन ०७, २०८०

काठमाडौँ, ७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उहाँको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसअघि उहाँले विसं २०३४ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताउनुभयो । उहाँले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत एवं पुरस्कार छनोट समितिका सदस्य प्राडा जयराज आचार्यले पुरस्कारको आधार बनाएर पुरस्कार छनोट गरिएको बताउनुभयो । उहाँले राष्ट्रकवि पुरस्कार ज्येष्ठ, उत्कृष्ट र वरिष्ठताका आधारमा प्राडा त्रिपाठीलाई प्रदान गरिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक विजयराज न्यौपानेले नेपाली भाषा, कला, समालोचना, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनको योगदानका आधारमा पुरस्कार वितरण गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रकविको मूर्ति स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । पुरस्कार छनोट समितिमा अध्यक्ष न्यौपाने, विज्ञ आचार्यसहित पुरस्कारदाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकविलाई साहित्यमार्फत चिरकालसम्म सम्झनका लागि अक्षयकोष स्थापना गरेर पुरस्कार घोषणा गरिएको बताउनुभयो । उहाँले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा साहित्यकार विजयराज न्यौपानेद्वारा लिखित बाल साहित्यकार स्व एकाराम सिंहको जीवनी समेटिएको पुस्तक लेखक न्यौपानेले राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल