पाँचथर — असार २ गते आएको बाढी पहिरोका कारण जनधन गुमाएका पाँचथरको फिदिम र हिलिहाङका पीडितलाई गल्फ वेभ हाउजिङ कम्पनी कतारमा कार्यरत नेपालीले राहत उपलब्ध गराएका छन् ।
नेपालका विभिन्न स्थान घर भएर कतारलाई कर्मथलो बनाएका सुरक्षित बचत ड्राइभर समूहको सक्रियतामा संकलित १ लाख ७३ हजार ६ सय रुपैयाँ शनिबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । फिदिम-४ हेवाखोला घर भएर कतारको गल्फ वेभ कम्पनी सुरक्षित ड्राइभर बचत समूहका अध्यक्ष युवराज बेघा लिम्बू र कोषाध्यक्ष गोविन्द तिवारीले फिदिम-४ का भानु थापामार्फत पठाएको रकम वडाध्यक्ष उपेन्द्र लावतीको उपस्थितिमा पीडित परिवारलाई वितरण गरिएको हो ।
बाढीका कारण ज्यान गुमाएका फिदिम-१० का सन्जोग लोवा, हिलिहाङ-७ का तिलकुमार तामाङ र फिदिम-५ को परिवारलाई प्रतिपरिवार १० हजार, हिलिहाङ-७ कै आशीष माझी तथा एलिसा माझीकी नाबालिका छोरी प्रिन्सा माझीलाई २० हजार रुपैयाँ राहत उपलब्ध गराइएको थियो ।
यस्तै बाढीका कारण खेतीयोग्य जमिन, घर र बाली नालीमा क्षति पुगेका परिवारका सदस्यलाई क्षतिको विवरण हेरी जनही २ हजारदेखि २० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइएको वडाध्यक्ष लावतीले जनाए । फिदिम-४ हेवाखोलामा आयोजित कार्यक्रममा पीडितहरुलाई राहत वितरण गरिएको थियो ।
स्थानीय समाजसेवी भानु थापाले प्रवासमा रहेर जन्मभूमिको पीडामा मलमपट्टी लगाउने गल्फ वेभ कम्पनीमा कार्यरत नेपालीलाई धन्यवाद दिए ।