सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।
शनिबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग संयुक्त छलफल गर्न लागेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको संसद अवरोध हटाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार समय व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग सभामुख घिमिरेले छलफल गर्नेछन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ । कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी पनि दिएको छ ।
कांग्रेसले सदन चल्न नदिने बताएपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर ६ जेठसम्मका लागि स्थगित गरिएको थियो ।