काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा राजदूत नियुक्तिमा समेत प्रवेश पाएको भन्दै चिन्ता जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्रीको तर्फबाट विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्दै राणाले गृह मन्त्रालय, सहकारीपछि साउदी अरबको राजदूत नियुक्तिमा विवाद आएको बताए ।
उनले भने, ‘अहिले कोरियाको राजदूतमा पनि भद्रगोल भएको छ । टेलिभिजनमा हेर्दा प्रधानमन्त्रीका सल्लाहकारले भन्नुभएको थियो हामीले राजदूतहरू नियुक्ति गर्दा केही मापदण्ड कायम गर्छौ भनेर । त्यो मापदण्ड कहाँ गइरहेको छ ?’
सांसद राणाले भने, ‘कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा जताततै आइरहेको छ । गृह मन्त्रालय, सहकारी, अब आएर साउदी अरबको राजदूतको नियुक्तिको बारेमा पनि कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा आएको छ ।’
उनले भने, ‘मैले विदेशी ऋणको बारे कुरा गरेको थिएँ । झण्डै ३७ अर्ब रुपियाँ अड्की रहेको छ । यसको बारेमा जवाफ आएन ।’
‘आर्थिक कुटनैतिकको बारेमा मैले अर्को कुरा राखेको थिएँ । भारत हाम्रो सबैभन्दा ठूलो ट्रेडिङ पार्टनर । त्यहाँको राजदूत प्रधानमन्त्रीको दुई दिन अगाडि वापस बोलाइएको छ । त्यसको असर के हुन्छ ?’, कांग्रेसका सांसद राणाले भने ।