Alliancekhabar

बुधबार, आश्विन ०२, २०८१

बैतडी, असोज २ गते : उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) जडान गरी स्वास्थ्य सेवा विभागले समेत २४ सै घण्टा अवलोकन गर्न सक्ने बनाइएको छ । यो कुनै सुविधासम्पन्न अस्पतालको दृश्य नभई पञ्चेश्वर स्वास्थ्य चौकीले दिँदै अएको उपचार सेवा हो ।

जिल्ला सदरमुकामबाट करिब एक दिनको दुरीमा रहेको पञ्चेश्वर गाउँपालिका–१ को पञ्चेश्वर स्वास्थ्य चौकीले दिँदै आएको उपचार सेवा अस्पतालको भन्दा पनि सुलभ छ । जिल्ला अस्पतालले समेत प्रयोगशाला शुल्क लिने गरेका बेला पञ्चेश्वर स्वास्थ्य चौकीले निःशुल्क सेवा दिँदै आइरहेको छ ।

स्वास्थ्य संस्थाले प्रयोगशालामा गर्भवती जाँच, कालाजार, डेङ्गु, एचआइभी, हेपाटाइटिस, क्षयरोग, औलो, जन्डिस, रक्तसमूह पहिचान, ‘स्क्रब टाइफस’, बिरामीको हेमोग्लोबिन चेकजाँच, चिनी रोग, खकारलगायत विभिन्न सरुवा रोगको निःशुल्क परीक्षण गरी गाउँमै उपचार गर्दै आइरहेको छ । प्रयोगशाला सञ्चालनपछि ४३२ जनाको एचआइभी परीक्षण गर्दा चार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितलाई मेलौली प्राथमिक स्वास्थ्य केन्द्रको एआरटीबाट निःशुल्क औषधी खुवाउने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८०/८१ मा चार हजार ७६५ जनाले उपचार गराएका छन् । यीमध्ये स्वास्थ्य चौकीले खोजपडताल गरेका २३ जना क्षयरोगीको नियमित औषधी खुवाएर उपचार गरिरहेको छ । यसबाहेक औलो रोगका तीन जना बिरामीको नियमित उपचार भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक सुरेश सार्कीले जानकारी दिनुभयो । पञ्चेश्वर स्वास्थ्य चौकीमा हप्ताको सातै दिन २४ सै घण्टा उपचार सेवा दिन सेन्सरसहितको क्यामरा, साइरन, आगलागी र भूकम्पको पूर्वसूचना दिने उपकरण जडान गरेपछि उपचार सेवा झनै प्रभावकारी बनेको जनस्वास्थ्य निरीक्षक सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला अस्पतालले दिने जत्तिकै सेवा स्वास्थ्य चौकीबाट प्रदान गरिरहेका छौँ । गाउँका बिरामीसँग उपचार गर्ने खर्च नहुँदा निःशुल्क ल्याब परीक्षणको सेवा दिइरहेका छौँ । हरेक महिनाको १ देखि ५ गतेसम्म बिरामीको उपचार गर्न र विभिन्न रोग पत्ता लगाउन घरदैलो अभियान सञ्चालन गरेर वडाका सबै गाउँ/टोलमा पुग्ने गरेका छौँ ।” स्वास्थ्य चौकीलाई कागजरहित बनाउन सफ्टवेयर जडान गरेर मन्त्रालय र विभागले स्वास्थ्य संस्थाका ३६८ वटा सूचकाङ्क दैनिक हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ । गाउँकै स्वास्थ्य संस्थाले अस्पतालको भन्दा राम्रो सेवा दिन थालेपछि जटिल रोगको उपचारबाहेक अन्यत्र जानुपर्ने बाध्यता हटेको स्थानीय हिरा चन्दले बताउनुभयो ।

गाउँकै स्वास्थ्य संस्थामा ल्याब सेवासहित निःशुल्क औषधीको व्यवस्था भएपछि उपचारका लागि भारत जानुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । यसअघि सामान्य उपचारका लागि महाकाली नदीमा डुङ्गा तरेर भारत जानुपर्ने वा एक दिन हिँडेर जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता थियो ।

गाउँपालिकामै नमुना स्वास्थ्य चौकी बनाउने उद्देश्य अनुसार पञ्चेश्वर स्वास्थ्य चौकीमा जनशक्ति र साधनस्रोतको अभाव हुन नदिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । अहिले स्वास्थ्य संस्थामा जनस्वास्थ्य निरीक्षक एक जना, अहेव दुई जना, अनमी तीन जना, ल्याब प्राविधिक एक जना र एक जना कार्यालय सहयोगी गरी आठ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

अध्यक्ष चन्दले भन्नुभयो, “पञ्चेश्वर स्वास्थ्य चौकीले गाउँपालिका, जिल्ला र प्रदेशस्तरीय कार्यक्रमसम्म उत्कृष्ट भएर पुरस्कृत भइसकेको छ । जनस्वास्थ्य निरीक्षकलगायत सबै स्वास्थ्यकर्मीले उत्कृष्ट काम गरेकाले गाउँपालिकाबाट पनि पुरस्कृत गरिसकेका छौँ ।” स्वास्थ्य सेवालाई छिटोछरितो र जनमुखी कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले प्रयोगशाला सेवा, बिरामी आउँदा साइरन बज्ने र घरदैलो अभियानले स्वास्थ्य सेवा प्रभावकारी बनेको जनस्वास्थ्य निरीक्षक सार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल