काठमाडौँ,असोज
पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting – Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो।
उहाँले , देशको सामाजिक सुरक्षाले नागरिकहरूलाई आधारभूत आवश्यकताहरू जस्तै स्वास्थ्य, शिक्षा, रोजगार, र सुरक्षित जीवनको सुनिश्चितता प्रदान गर्न मद्दत गर्ने , सामाजिक असमानता घटाउन र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले प्रगतिशील कर प्रणालीमार्फत आम्दानी अनुसार करको दर तोकिँदा उच्च आम्दानी भएका व्यक्तिहरूले बढी कर तिर्ने र न्यून आम्दानी भएका नागरिकहरूले कम कर तिर्ने भएकाले यसले आय वितरणमा सन्तुलन ल्याउन मद्दत गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई वित्तीय सहयोग पुर्याउन र सरकारी स्रोतहरूलाई न्यायोचित तरिकाले वितरण गर्न प्रगतिशील कर प्रणालीकाे विशेष भूमिका रहने बताउनुभयो।
यसका साथै, सामाजिक सुरक्षा कार्यक्रमहरूले कमजोर र पछाडि पारिएका समुदायहरूको हकअधिकारको संरक्षण गर्दै उनीहरूको जीवनस्तर सुधार गर्न सकिने , सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणालीको प्रभावकारी कार्यान्वयनले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा टेवा पुर्याउँने , समाजको दीर्घकालीन स्थिरता र आर्थिक विकासलाई समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा , अनियमित तवरले अकुत सम्पत्ति आर्जन गर्ने धनाड्यहरूलाई करको दायरामा ल्याएर नेपाललाई एक प्रगतिशील र श्रमिक समर्थक देशको रुपमा स्थापित गर्नुपर्ने पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआईका )दक्षिण एसिया उपक्षेत्रिय सचिव कानन रमणले बताउनुभयो।
अर्थशास्त्री डाक्टर अच्युत वाग्लेले पछिल्ला दिनमा देशमा राजस्व घाटा चिन्ताजनक रुपमा बढेको उक्त कार्यक्रममा बताउनुभयो।
कार्यक्रममा जीफन्ट नेपालका अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनले अब आफ्नो कामको दायरा बढाउनुपर्ने अवस्था आएको बताउनुभयो।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले नेपालका प्रमुख कर्पोरेट हाउसहरूको खातापाता राज्यले हेर्ने हो भने देशभरका श्रमिकले सहुलियत दरमा खाद्यान्न पाउने बताउनुभयो।