alliance khabar

सोमबार, कार्तिक ०५, २०८१

जुम्ला, कात्तिक ५ गते ।

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो अभियान नरोकिने बताउनुभएको हो । उहाँले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताउनुभयो ।

‘‘सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्धमा निकै ठुलो अभियान सुरु गरिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ ।’’

भूमाफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने र जनतालाई कङ्गाल बनाउने प्रवृत्ति धेरै पहिलेदेखि हुर्कँदै आएको आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले त्यस्ता भूमाफियाले कब्जा गरेर व्यक्तिका नाममा लगेको जग्गा पुनः राज्यका नाममा फिर्ता गराउने र उनीहरूलाई मुद्दा चलाउने काम गरेको स्मरण गर्नुभयो ।

उहाँले सामाजिक न्यायको पक्षमा देशभित्र र विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौँ नागरिकता विहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौँदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्नेलगायतका कामले जनतामा नयाँ उत्साह पैदा भएको बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणको सवालमा आफूले तिनैपटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण थालनी गरेको बताउनुभयो । पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारतसँग दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताउनुभयो ।

चाँडै निर्माण सम्पन्न हुन थालेको मध्यपहाडी लोकमार्गले पहाडी क्षेत्रलाई नयाँ जीवन दिँदै राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कोशेढुङ्गा हुने बताउनुभयो । उत्तरदक्षिण कोरिडोरले कर्णाली लगायतका विकट क्षेत्रलाई सुगम बनाउँदै लैजाने बताउनुभयो ।

‘‘भारत र बङ्गलादेशसँग विद्युत व्यापारको सम्झौता क्रान्तिकारी कदम थियो’’ उहाँले भन्नुभयो, ‘‘पहिलोपटक चीन भ्रमणका क्रममा पनि विद्युत व्यापारका लागि क्रसबोर्डर ट्रान्समिटर निर्माण गर्ने सहमति भयो । थुप्रै नाकाहरू खोल्ने सहमति भयो । तपाई कर्णालीवासी जनसमुदायलाई थाहै छ, ८ वटा परम्परागत नाकाहरू खोल्ने निर्णय पनि यसैबिचमा भयो । जुम्लाको नाथेलाग्नासम्म बाटो पुर्‍याउने सहमति पनि भएको छ, यो कर्णालीकाे विकासको लागि महत्त्वपूर्ण काम हो ।’’

आफू चौथोपटक जुम्ला आएको उल्लेख गर्दै उहाँले खस भाषा र सिञ्जा सभ्यताको केन्द्रमा आएर बोल्दा गौरव महसुस भएको र यो सभ्यतालाई पुनर्स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले यससम्बन्धी कानुन निर्माणको प्रक्रिया आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले अघि बढाएको जानकारी दिँदै यसलाई पूर्णता दिन सबै जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निर्वाचित वडा अध्यक्ष धनबहादुर कामीसहित झन्डै पाँच सय व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल