तनहुँ, मङ्सिर २४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र पाटी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले हालै सम्पन्न उपनिर्वाचनमा आएको मतको आधारमा माओवादी प्रति जनताको भरोसा बढेकोले एक्लै लड्ने बताउनुभयो । उपमहासचिव पुनले भन्नुभयो, ‘‘जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणले गर्दा उपनिर्वाचन राम्रो मत प्राप्त हारेको धेरै स्थानमा दोस्रो नम्बरमा भयौँ ।’’
जनताको घरदैलोमा नै पुगेर आफ्नो एजेन्डाको अवगत गराउने र माओवादी एक्लै लडेर विजय प्राप्त गर्ने पुनले बताउनुभयो । सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै पुनेले आगामी निर्वाचनमा एक्लै विजयी हुने गरी अभियान थाल्ने बताउनुभयो ।
सङ्गठन निर्माण र जनपरिचालनबाट निर्वाचन एक्लै जित्ने वातावरण बनाउने उहाँको भनाई थियो । आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनले बताउनुभयो ।
सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्ने उहाँको भनाई थियो । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी हाल सरकार फेरबदलमा नलाग्ने उहाँको भनाई थियो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उहाँको जोड थियो ।
उपमहासचिव पुनले भन्नुभयो, ‘‘व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौँ।’’ आगामी निर्वाचन सम्ममा माओवादीबाट टुक्रिएका अन्य पार्टीलाई एकता ल्याउने गरे पार्टी अघि बढिरहेको उहाँको भनाई थियो ।