alliance khabar

आइतबार, पौष १४, २०८१

तनहुँ, पुस १४ गते ।

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि बन्ने पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको हो ।

पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । २०७१ साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म प्रारम्भिक चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरु खुरु म्याद थप गर्दै आएको छ । डिजाइन एन्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन । सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएको पुल निर्माणको काम रोकिएको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “यस वर्षको वर्षायाममा नदीमा आएको बाढीले पिल्लर डुबाएकाले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएकाले काम रोकिएको हो ।” पुल महाशाखालाई पत्राचार गरेर पुलको छिटो डिजाइन गरेर पठाउन भनिएको श्रेष्ठले बताउनुभयो । अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठ बताउनुहुन्छ ।

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायको पनि पटक पटक ध्यानाकर्षण गराइए पनि एक दशकसम्म पनि पुल अधुरो रहेको बताउनुभयो । गुरुङले भन्नुभयो, “अनेक बहाना बनाएर पुल निर्माणमा ढिलाइ गरिएको छ अति नै भएकाले दबाब दिन आन्दोलन गर्नुपर्ने देखिएको छ ।” उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिङ सडक प्रयोग गर्नु पर्दैन । पुल ११ मिटर चौडाइको हुने छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रूपमा साना बस चलेका छन् तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिङ सडकखण्डसम्म आइपुग्न सक्दैनन् । सेती नदीको किनारैकिनार घुमाउनेघाट, प्युघर, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । घुमाउनेघाटमा भएको झोलुङ्गे पुलबाट मानिस मुग्लिङ–नारायणगढ सडकसम्म आउने जाने गर्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल