alliance khabar

शनिबार, फाल्गुण १७, २०८१

ताप्लेजुङ, फागुन १७ गते।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेवल (मोटर गुड्ने) पुल निर्माण गर्नमा ढिलाई हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन्। हिउँदयामको अन्त्य भई सक्दासमेत हेवाखोलाको पुल पुनर्निर्माण गर्नमा ढिलाई गरिएकाले ताप्लेजुङवासी चिन्तित बन्न थालेका हुन्।

आजभन्दा पाँच महिनाअघि अर्थात गत असोज १२ गते भीषण वर्षासँगै बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको मेची राजमार्ग जोड्ने बेलिब्रिज बगाएको थियो।

मेची राजमार्गले पहिलो पटक ताप्लेजुङलाई सडक सञ्जालमा जोडेको हो। पछिल्लो समय निर्माणाधीन तमोर कोरिडोर र मदन भण्डारी (धनकुटा–बसनतपुर–गुफा–दोभान सडक) राजमार्गले ताप्लेजुङलाई जोडे पनि सडक पहुँच र यातायात सञ्चालनका दृष्टिले मेची राजमार्ग नै मुख्य सडक हो।

ताप्लेजुङ जोड्ने मुख्य सडक सञ्जालका रुपमा मेची राजमार्गस्थित हेवाखोलाको मोटरेवल पुल निर्माण गर्न ढिलाई हुँदै जाँदा जिल्लावासी चिन्तित बन्न थालेका हुन्। बर्खायाम सुरु भई सक्दासमेत समयमा पुल निर्माण नगर्दा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था आउनसक्ने खतराका कारण ताप्लेजुङवासी थप चिन्तित बनेका हुन्। हेवाखोलामा समयमा मोटरेवल पुल नबन्दा सिङ्गो जिल्लावासीले यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था आउने ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो।

अध्यक्ष थापाका अनुसार मध्य बर्खायाम अगावै हेवाखोलामा पुल नबनेमा यात्रुले यात्रा गर्न पाउने छैनन् भने उपभोग्य लगायतका वस्तु ढुवानीमा समस्या आउने छ। पुलकै कारण यातायात असुविधा भएमा यात्रु तथा जिल्लावासीलाई ठूलो मार्का पर्ने उहाँको भनाइ छ। यातायातका कारण जिल्लावासीमा आउनसक्ने सङ्कटलाई दृष्टिगत गरी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र जिल्लावासीले यसअघि नै सरकारको ध्यानाकर्षण पनि गराई सकेका छन्।

यस्तै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हेवाखोलाको पुल निर्माणमा ढिलाई हुँदा ताप्लेजुङका लागि आइपर्ने समस्याबारे सम्बन्धित निकायमा जानकारी गराएको उल्लेख गर्नुभएको छ। मेची राजमार्ग र तमोर कोरिडोर सडक जोड्ने हेवाखोलाकै मोटरेवल पुल एकैदिनको बाढीले बगाएर यातायात सञ्चालनमा समस्या रहेकोबारे सम्बन्धित निकायमा अवगत भइसकेको प्रजिअ शर्माको भनाइ छ। मध्यबर्खा अगावै पुल नबनेमा सिङ्गो ताप्लेजुङ र पाँचथरको हेवाखोला वारिका क्षेत्रमा समस्या हुने निश्चित छ।

यता हेवाखोलामा मोटरेवल पुल निर्माणको कार्य भने सुरु भएको सडक डिभिजन इलामले जनाएको छ। सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालले हेवाखोलामा बेलिब्रिज निर्माण हुने र निर्माण कम्पनीले काम सुरु गरिसकेको जानकारी दिनुभयो। निर्माण कम्पनी दोभान सुपर सौगात लाइट जेभीले बेलिब्रिज निर्माणको काम केही दिन अघिदेखि सुरु गरेको बरालले बताउनुभयो। आगामी जेठ मसान्त सम्ममा बेलिब्रिज बनाई सक्नेगरी निर्माण कम्पनीले भ्याटसहित तीन करोड ५४ लाख रुपियाँमा कामको जिम्मा लिएको पनि उहाँले जानकारी लिनुभयो।

हेवाखोलामा पहिले मोटरेवल पुल रहेको ठाउँभन्दा ८० मिटर तल्लो भागतर्फ बेलिब्रिज निर्माण गरिने इन्जिनियर बरालले जानकारी दिनुभयो। उहाँका अनुसार अब बन्ने बेलिब्रिजको लम्बाइ ७० मिटरको हुने छ भने पहिले ४८ मिटर लम्बाइ भएको पुल रहेको थियो। तोकिएको समयभित्रै बेलिब्रिज निर्माण भइसक्ने र चिन्तित बनिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।

निर्माण कम्पनी दोभान सुपर सौगात लाइट जेभीका ओभरसियर पवन भट्टराईले पनि हेवाखोलामा मोटरेवल पुल अर्थात बेलिब्रिज निर्माणको काम सुरु भएको जानकारी दिनुभयो। ओभरसियर भट्टराईका अनुसार बेलिब्रिज पुलका लागि जिप निर्माणको काम प्रारम्भ भएको र ड्रिलिङका लागि आवश्यक पर्ने सामग्री केही दिनभित्रै आइपुग्ने र त्यसपछि कामले तीब्रता पाउने छ।

उहाँले तोकिएको समयावधि अगावै अर्थात वैशाखभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको जानकारी दिनुभयो। ड्रिलिङसहित पुलको जिप निर्माण गर्नलाई अलि बढी समय लाग्ने र जिप निर्माण भइसकेपछि बेलिब्रिज जडान गर्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो। उहाँका अनुसार हेटौंडास्थित एक कम्पनीमा बेलिब्रिजको ट्रस सामग्री तयार भइसकेको छ।

हेवाखोलाको पुल बाढीले बगाएपछि उक्त ठाउँमा अस्थायी डाइभर्सन निर्माण गरी मेची राजमार्ग खुलाइएको थियो। बाढीले हेवाखोलाको मोटरेवल पुल बेलिब्रिज बगाउनुका साथै पुल नजिक भारापा खण्डतर्फ सडकसमेत क्षति गरेको थियो। बाढीले क्षति गरेको सो सडकसमेत पुनर्निर्माण गर्न सुरु गरिएको सडक डिभिजन इलामले जनाएको छ। हिजोआज भने जलविद्युत आयोजनाले प्रयोग गरेका कारण हेवाखोलामा पानी नभएको र अस्थायी डाइभर्सनमार्फत नै मेची राजमार्गमा यातायात सञ्चालनमा रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल