alliance khabar

बुधबार, फाल्गुण २८, २०८१

मध्यविन्दु, फागुन २८ गते ।

विगत तीन वर्षको अवधिमा नवलपरासीपूर्व (नवलपुरको) एक हजार १४५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विगत १० वर्षको अवधिमा जिल्लाका विभिन्न ५०८ स्थान वन क्षेत्रमा डढेलो लागेको छ ।

यहाँको हुप्सेकोट गाउँपालिका–३ मा रहेको विराट सामुदायिक वनले हालै आयोजना गरेको वनडढेलो नियन्त्रण, महिला सशक्तीकरण तथा वन ऐन नियमसम्बन्धी सचेतना कार्यक्रममा सहजीकरण गर्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्तकेशव अधिकारीले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । वनडढेलोको उच्च जोखिममा पर्ने जिल्लामध्ये नवलपुर १६ औँ स्थानमा पर्ने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यहाँ लामो क्षेत्र पूर्वपश्चिम राजमार्ग पर्ने भएकाले समेत डढेलोको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । नवलपुरमा ठुलो हिस्सा वन क्षेत्रले ओगटेको छ । यहाँ गैँडाकोटदेखि दाउन्नेसम्म ६९ किलोमिटर पूर्वपश्चिम राजमार्ग पर्छ । राजमार्ग आसपासमा धेरै वन क्षेत्र रहेको हुँदा वनडढेलोको जोखिम पनि उच्च रहेको हो ।

राजमार्गमा आवतजावत गर्ने यात्रुले सवारी रोकेर चुरोट, बिँडी खाएर ठुटो वनमा फाल्दा पनि राजमार्गछेउका वन बढी डढेलोको जोखिम रहेको अधिकारीको भनाइ छ । राजमार्गआसपासका वनमा डढेलो लागेपछि सँगै जोडिएका अन्य वनमा समेत डढेलो फैलने गरेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयबाट डढेलो नियन्त्रण गर्ने प्रयासस्वरूप वन क्षेत्रमा रहेका घुम्ती पसल हटाउने काम गरेको गरेको अधिकारीले बताउनुभयो । राजमार्गछेउमा विभिन्न स्थानमा गरी आठ/दस वटा घुम्ती पसल रहेकाले डढेलोको सिजनभरि तीन महिनासम्म पसल नराख्न भनिएको उहाँले बताउनुभयो । यसै गरी डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम, पर्चा पम्पप्लेट वितरण तथा विद्यार्थीलक्षित कार्यक्रम तय गरिएको र केही दिनभित्रै सम्पन्न गर्नेसमेत उहाँले बताउनुभयो ।

तीन दिनको कार्यक्रममा डढेलोसम्बन्धी सचेतना प्रदानसँगै डढेलो नियन्त्रणसम्बन्धी नमुना अभ्याससमेत गरिएको थियो । सबडिभिजन वन कार्यालय हुप्सेकोट, बौदीकालीका प्रमुख सूर्य सिंह गुरुङले नमुना अभ्यासका क्रममा डढेलो लागिहालेमा नियन्त्रणका लागि गर्न सकिने काम कसरी गर्ने, कहाँ कहाँ समन्वय गर्ने भनी प्रस्ट पार्नुभएको थियो ।

त्यस्तै दोस्रो सदनमा महिला सशक्तीकरणबारे कार्यक्रम भएको थियो भने मङ्गलबार वन ऐन नियमसम्बन्धी जानकारी प्रदान गरिएको वन समूहका सचिव ईश्वरप्रसाद रेग्मीले जानकारी दिनुभयो । विराट सामदायिक वनका अध्यक्ष प्रेमबहादुर कार्कीले वनले प्रत्येक वर्ष उपभोक्तालक्षित गरी यसप्रकारका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल