alliance khabar

शुक्रबार, चैत्र १५, २०८१

बैतडी, चैत १५ गते  । 

वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ । जङ्गलमा रहेको फल खान छाडेर बाँदरले किसानको बारीमा रहेको अन्नबाली तथा तरकारी खान थालेपछि किसान हैरान भएका छन् ।

बाँदरले खेतीपाती नाश गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि किसान जमिन बाँझो छाड्न बाध्य छन् । भारतपारिबाट महाकाली नदी तरेर आएका बाँदरका कारण दशरथ चन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका सयौँ परिवार विस्थापित भएका छन् ।

बाँदरकै कारण दशरथ चन्द नगरपालिकाका ११ वटा वडाको एक हजार ६२० हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । नगरको कुल दुई हजार ५९५ हेक्टर खेतीयोग्य जमिनमध्ये ९७२ हेक्टरमा मात्रै खेती हुने गरेको नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार कुल खेतीयोग्य जमिनको ३७ प्रतिशत हिस्सामा मात्रै खेती हुने गरेको छ । त्यो पनि बाँदरका कारण किसानले अन्नबाली भित्र्याउन नपाउने उहाँले बताउनुभयो ।

भारतपारिबाट झुलाघाट पुल तरेर बैतडी आउने बाँदर राति झुलाघाट बसपार्कमा बास बस्ने गरेका छन् । बिहानपख बाँदरको झुन्ड दशरथ चन्द नगरपालिका ५, ६, ८ र १० नम्बर वडाका धौल्याली, साङ्डी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, बाडीलेक, देवलहाट, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँमा पस्ने गरेको छ । बाँदरले बारीमा लगाएको खेतीपाती मात्र होइन भान्सा कोठामा पकाएको खानासमेत छिनेर खान थालेका छन् ।

बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरा बाँदरले छिनेर खान थालेपछि गाउँमा आतङ्क सिर्जना भएको दशरथ चन्द नगरपालिका–४ का युवा किसान दीपक ठगुन्नाले बताउनुभयो ।

बाँदर आतङ्कका बारेमा किसानले गुनासो लिएर नगरपालिका आउने गरेको दशरथ चन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले बताउनुभयो । बाँदर मार्ने ऐन कानुन नभएकाले नगरपालिकाले केही गर्न नसक्ने उहाँले बताउनुभयो । किसानलाई वैकल्पिक खेतीका रूपमा टिमुर, कागती, मौरीपालन जस्ता अन्य व्यवसाय गर्न नगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को तथ्याङ्क अनुसार नेपालमा २५६ वटा जङ्गली खाद्य फल रहेका छन् । तीमध्ये सुदूरपश्चिमको बैतडीलगायतका पहाडी जिल्लामा आधाभन्दा बढी खाद्य फल पाइने नास्टका वैज्ञानिक डा. लोकरञ्जन भट्टले बताउनुभयो ।

उहाँले खोज अनुसन्धान गरेर लेख्नुभएको ‘नेपालका जङ्गली खाद्य फल’ पुस्तकमा २५६ वटा जङ्गली खाद्य फलको विशेषता उल्लेख गरिएको छ । यद्यपि जङ्गली खाद्य फलको उपयोग हुन सकेको छैन । भारतबाट आएका बाँदरलेसमेत यी फलमा रुचि नदेखाएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल