Alliancekhabar

सोमबार, भाद्र २५, २०८०

काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसक्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाउनुभएको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ । बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितासमेत रहेको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ । यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हँुदैछ ।

यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्याङ्क लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल