शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता बढाउन भिटामिनको भूमिका हुन्छ ।
भिटामिन बोसोमा घुल्ने र पानीमा घुल्ने गरी दुई प्रकारका हुन्छन् । बोसोमा घुल्ने भिटामिन ए, डी, ई र के हुन् भने पानीमा घुल्ने भिटामिन सी र बी कम्प्लेक्स हुन् ।
भिटामिनको प्रकार र पाइने खानेकुरा
भिटामिन ए ले छाला नरम बनाउछ । आँखाको शक्ति सामान्य राख्न, हाड र दाँतको वृद्धि गर्न सहयोग गर्छ । साथै प्रजनन् र प्रतिरक्षा शक्ति दिने र दृष्टिको समस्या रोकथाम गर्ने कार्य पनि गर्छ । भिटामिन ए ‘एक्टिभ भिटामिन ए’ र ‘बिटा कैरोटेन’ गरी दुई प्रकारका हुन्छन् । एक्टिभ भिटामिन ए लाई रेटिनाल पनि भनिन्छ । कलेजो, कुखुरा र खसीको मासु, दूध, अण्डा यसका मुख्य स्रोत हुन् ।
बिटा कैरोटेन भिटामिन फलफूल र तरकारीमा पाइन्छ, जसलाई क्यारोटिनाइड भनिन्छ । यो भिटामिन पहेंला गाढा र हरिया फलफूल, हरियो तरकारी, बिटरुट, फर्सीलगायतमा प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिन डी ले क्याल्सियमको शोषण गरेर हाड मजबुत बनाउँछ । भिटामिन डी घाँटीको अगाडि थाइराइड ग्रन्थीको छेउमा रहेका साना पाराथाइराइड ग्रन्थीले उत्पादन गर्ने गर्छ । बोसो वा चिल्लो पदार्थमा घुलिने भिटामिन हो यो । यसले सेरेटोनिन हार्मोन मस्तिष्कमा उत्पादन गरेर आफूलाई खुसी बनाउन सहयोग गर्छ । शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न महत्वपूर्ण भूमिका खोल्छ । भिटामिन डी को मुख्य स्रोत भनेको सूर्यको किरण हो । दूध, अण्डा, मासु, सूर्यमुखीको दाना आदिमा यो तत्व पाइन्छ ।
भिटामिन ई ले स्नायु र मांसपेशी स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । सामान्य प्रतिरक्षा कार्यका लागि पनि भिटामिन ई जरुरी हुन्छ । तेल, माछा, मासु, गहुँ, आलु, ओखर, बदाम, काजु, कट्टुस भिटामिन ईका मुख्य स्रोत हुन् ।
भिटामिन केले रगत जम्न र रगतमा क्याल्सियमको स्तर कायम गर्न मद्दत गर्छ । शरीरको कुनै पनि भागबाट अनावश्यक रूपमा रगत बग्दा यसले चाँडो रगत बग्न रोक्छ वा जम्न मद्दत गर्छ । यसको शरीरमा कमी भयो भने धेरैबेरसम्म चोटपटक लागेमा, महिलाको पाठेघरबाट आवश्यकता भन्दा धेरै रगत बग्ने धेरै रगत बग्ने आदि कारणबाट मानिसको अचानक मृत्युसम्म हुनसक्छ ।
भिटामिन बी कम्प्लेक्सले रातो रक्तकोष बनाउन र छाला स्वस्थ राख्न मद्दत गर्छ । मुखको कुनामा रातोपन, चिरा पर्ने, जिब्रो सुन्निने र छालाको रोग हुनबाट यसले बचाउँछ । यो अन्न, मासु, अण्डामा पाइन्छ ।
भिटामिन बी र सी पानीमा घुल्ने भिटामिन हुन् । यसमा पनि भिटामिन बी धेरै प्रकारका र शरीरमा पनि विभिन्न प्रकारका काम गरिरहेका हुन्छन् । भिटामिन बी १ लाई थाइमिन पनि भनिन्छ । यसले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्दत गर्छ । यसका स्रोतहरू माछा, मासु, अण्डाको पहेंलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदि हुन् । यी खाद्यान्नमा प्रशस्त मात्रामा भिटमिन बी १ पाइन्छ ।
भिटामिन बी २ को अर्को नाम राइबोफ्लोविन हो । पानीमा सजिलैसँग घुल्ने भिटामिन बी २ ले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्दत गर्नुका साथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गरिरहेको हुन्छ । यो दूध र दुग्धजन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदिमा प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिन बी ३ को मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु हुन् ।