फ्लोरिडा (अमेरिका) ।
अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ ।
फ्लोरिडा (अमेरिका)को स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँगको खेलमा वर्षा बाधक हुने चिन्ता बढेको छ ।
आज सेन्टर ब्रोवार्ड काउन्टी रंगशाला क्षेत्रमा विहानैदेखि झरी परिरहेको छ भने मौसम पूर्वानुमानले दिउँसो २ बजे वर्षा रोकिए पनि साँझदेखि फेरि वर्षा हुने जनाएको छ ।
जारी विश्वकपका नेपालले दोस्रो खेल खेल्दै गर्दा श्रीलंकाको यो तेस्रो खेल हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको पराजय भोगेको थियो ।
श्रीलंकाले भने पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको हार भोग्दा दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको पराजय बेहोरेको थियो ।
त्यसैले ‘सुपर ८’ को सम्भावना कायमै राख्न श्रीलंकाले भोलिको खेलमा नेपाललाई पराजित गर्नुपर्ने हुन्छ ।
नेपालले पनि अघिल्लो चरणको सम्भावना बलियो बनाउन श्रीलंकामाथि विजयी हात पार्नुपर्ने हुन्छ ।
अघिल्ला दुई खेलमा पराजय भोगेका कारण श्रीलंकाको मनोबल कमजोर भएको आंकलन गरिएको छ भने नेपालले पनि त्यसकै फाइदा उठाएर भोलिको खेलमा श्रीलंकालाई पराजित गर्ने लक्ष्य राखेको छ ।
नेपाली टिमका कप्तान रोहित पौडेलले पनि श्रीलंकालाई स्तब्ध पार्नेमा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
विश्वकपमा एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि जित हात पारिराख्दा नेपालले पनि श्रीलंकाविरुद्ध अप्रत्याशित नतिजाको अपेक्षा गरेको छ ।