काठमाडौँ, साउन २ गते ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
उहाँले ३० अर्बको विज्ञापन बजारमा १३ अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने २० अर्बमा दुई अर्बमात्र राजस्व सङ्कलन हुने परम्पराको अन्त्यका लागि सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो । विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरुङले बोर्डलाई निर्देशन दिनुभयो ।
विज्ञापन बजारको बारेमा जानकारी गराउनुहुँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताउनुभयो । उहाँले सञ्चार माध्यमको विलको प्रतिलिपि राखेर मात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने व्यवस्था कानुनमा गरिएको जानकारी गराउनुभयो । विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बोर्डका अध्यक्ष हुमागाईँको भनाइ छ ।